‘जोशीलगायत नेताहरुलाई पार्टीबाट निस्कासन गरिनु दुर्भाग्य’

file Photo- Kabin Adhikari 

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्वमन्त्री एवं कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलगायत तीन जना नेताहरुलाई पार्टीबाट निस्कासन गरिनु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

शनिबार कांग्रेसको अनुशासन समितिले तनहुँका जोशी, कैलाली कांग्रेसका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो।

उनीहरुमाथि आधारहीन र मनगढन्ते तर्कका आधारमा जोशीसहितका नेताहरुलाई पार्टीबाट निस्कासन गरिएको भन्दै कोइरालाले असन्तुष्टि जनाएका हुन्। निष्कासित जोशीसहितका नेताहरुमाथि २०७४ मा सम्पन्न चुनावमा पार्टीलाई असहयोग गरेको आरोप छ।

नेता कोइरालाले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं। अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ? आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो।’


ताजा समाचार