डेङ्गुको कारण ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

काठमाडौँ। डेङ्गुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गु भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ। डेङ्गुका संक्रमितको संख्या ३१ हजार नाघेको छ।

पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए। बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गुको संक्रमण केही कम हुने आंकलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको उनको भनाइ छ।

डेङ्गुबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो। घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न चिकित्सकको सुझाव छ।


ताजा समाचार