समाजवादी मोर्चाको सचिवालयका काम के-के हुन् ?

काठमाडौँ। सत्तारुढ चार दलीय समाजवादी मोर्चाले आफ्नो काम कारबाही र गतिविधिलाई व्यवस्थित बनाउन चार सदस्यीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् ।

हमाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ । सदस्यसचिवले बैठक सञ्चालन, एजेन्डा प्रस्तुत, माइन्युट लेखन र कार्यालयको प्रशासनिक कामको नेतृत्व गर्नेछन् ।

मोर्चाले पारित गरेको कार्यविधिमा सचिवालय र यसको काम, कर्तव्य र अधिकारबारे ६ बुँदे व्यवस्था गरिएको छ । जसमा ‘मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय गठन हुने छ’ भनिएको छ ।

त्यस्तै सचिवालयमा मोर्चा घटक दलहरूबाट १÷१ जना प्रतिनिधिहरू रहने र सचिवालयले केन्द्रीय संयोजन समितिको निर्णय कार्यान्वयनका लागि कार्ययोजना बनाउने उल्लेख छ ।

सचिवालयले संयोजन समितिका सम्पूर्ण बैठक र त्यसका निर्णयहरूको सचिवालयले व्यवस्थित रूपमा अभिलेख राख्नुका साथै जुन दलले मोर्चाको अध्यक्षता गरेको हुन्छ सोही दलको प्रतिनिधित्व गर्ने मोर्चाको सचिवालय सदस्य मोर्चाको सदस्य सचिव हुने व्यवस्था छ ।

मोर्चाको बैठक तथा कार्यक्रमहरूको सञ्चालन र बैठकको माइन्युट तयार गर्ने जिम्मेवारी सदस्य सचिवको हुने छ मोर्चाको कार्यविधिमा छ  ।


ताजा समाचार