पत्रकार विश्वकर्माले ल्याए ‘भूराजनीतिको भार’

काठमाडौँ। पत्रकार बाबुराम विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भार’ विमोचन गरिएको छ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री एवं कांग्रेस नेता मीनेन्द्र रिजाल, परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारी र पत्रकार कुन्दन अर्यालले पुस्तक लोकार्पण गरेका हुन्।

राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा इन्डिगो इन्क प्रकाशनले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले परराष्ट्र नीति, राष्ट्रिय नीति हुनुपर्नेमा सरकार फेरिँदैपिच्छे नीति पनि फेरिने गरेको त होइन? भन्दै प्रश्न गरेका छन्।

उनले भने, ‘हाम्रो कूटनीति सन्तुलनमा छैन, कोल्टे पल्टिएकै छ । दुवै छिमेक उन्नत भइरहने, हामीचाहिँ जहाँको त्यहीँ भइरहने कस्तो कूटनीति? पहिले नै अध्यावधि गर्नुपर्ने हाम्रो भूराजनीति र परराष्ट्र नीति अहिले पनि परम्परागत रुपमा चलेको छ। परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्छ तर, हाम्रो नीति दलबाट प्रेरित त छैन? श्रेष्ठले तर्क गरे, ‘हाम्रो भू स्थिर भयो तर, राजनीति अस्थिर। भूगोलले जितेको छ, राजनीतिले हार्‍यो।’

त्यस्तै कार्यक्रममा काङ्ग्रेसका नेता रिजालले झुटा राष्ट्रवादको बिल्लाले कहीँ नपुर्‍याउने बताउँदै अन्तर्राष्ट्रिय सम्बन्ध देशको हितमा हुनैपर्ने धारणा राखेका छन्। ‘आज दक्षिणतिर फर्केर सक्दो गाली गर्ने, भोलि उत्तरतिर फर्केर सक्दो गाली गर्ने राजनीतिले हामीलाई कहीँ पुर्‍याउँदैन,’ उनले भने।

लेखक विश्वकर्माले ३ वर्षअघि सक्रिय पत्रकारिता छाडेर अनुसन्धानमा लागेकै परिणाम यो पुस्तक आएको बताए। दुई दशकभन्दा लामो समय खोज पत्रकारितामा सक्रिय विश्वकर्माको यो दोस्रो पुस्तक हो। ‘मैले पत्रकारिता गर्दा जसरी निष्पक्ष भएर सबै पाठकको प्रिय बन्न सकेँ, किताब पनि त्यसरी नै तयार पारेको छु’, विश्वकर्माले थपे, ‘कुनै देशप्रति पक्षपोषण नगरी प्रमाणसहित देशलाई सबैभन्दा माथि राखेर यो पुस्तक तयार पारेको छु।’

१३ अध्यायमा समेटिएको पुस्तक एमसीसी, बीआरआई, एसपीपी, जीएसआई, इन्डो प्यासिफिकलगायत सीमा विवाद र गोप्य प्रतिवेदनमा केन्द्रित छ। सो पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो।


ताजा समाचार