‘पार्टीमा विज्ञापन खुल्छ, परीक्षा हुँदैन, भर्ती हुने, अवकाश नहुने परिस्थिति छ’

काठमाडौँ। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी नेताहरूको व्यक्तिगत स्वभावमा अध्यक्ष पुष्पकमल दाहालले खेल्ने गरेको आरोप लगाएका छन्।

पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टीमा नेताहरूबीच अध्यक्ष दाहालले खेल्ने गरेको बताएका हुन्। केन्द्रीय समितिको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा शर्माले पार्टी महासचिव चयनका बेलाको प्रसंग उल्लेख गरेका थिए। ‘समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौं । मान्छे हुनुको नाताले सबैको आ–आफ्नै स्वत्व हुनु स्वाभाविकै छ। अध्यक्ष कमरेडले बेला-बेला त्यसमै धार लाइदिनुहुन्छ, ‘पार्टीमा गुटबन्दी गरेको भन्ने आरोप अस्वीकार गर्दै शर्माले भनेका छन्, ‘तलबाट पनि म फलनाको हुँ र होइन भन्ने चलन छ। अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गरिन्छ । हामी तपाईंकै हौं, दुई जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अध्यक्षलाई अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रुपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ। अनि गरौं के?’

उपमहासचिव शर्माले अध्यक्ष दाहालको कुरा जति स्वीकार गर्दै आएपछि राम्रो व्यवहार नपाएको भन्दै दुखेसो व्यक्त गरेका थिए। ‘जति माया लाए पनि, जति कसम खाए पनि…,’बोलको गीत गाउँदै शर्माले केन्द्रीय सदस्यहरूलाई सोधेका थिए, ‘म के गरौं ?’

अध्यक्ष दाहाललाई जुनसुकै परिस्थितिमा आफूले साथ दिएको तर पनि विश्वास नगरिएको भन्ने शर्माको भनाइ थियो। ‘परिस्थिति अदलबदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सँधै अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाहीं आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर, त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ,’ उनले भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन ? तल कुनचाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनैपर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला।’

पार्टीमा नयाँ नेताहरूलाई ठाउँ नछोडिने गरेको पनि शर्माले गुनासो गरेका थिए। उनले भने, ‘हाम्रो पार्टीमा विज्ञापन खुल्ने तर परीक्षा नहुने, भर्ती हुने तर अवकाश नहुने परिस्थिति विद्यमान छ । यसले युवाहरूलाई नीति निर्माणको तहमा ल्याउन समस्या भएकै छ ।’ आठौं महाधिवेशनको समापन अघि बसेको स्थायी समिति बैठकमा नेताहरूको अवकाशका विषयमा छलफल गर्नुपर्ने प्रस्ताव राखेको र पार्टी कमिटी समावेशी र युवा सहभागिता गर्नुपर्ने भनेको तर त्यसको सुनुवाइ नभएको शर्माको भनाइ थियो । ‘हामी एक तिहाई नेताहरूले विदा लिएर फरक भूमिकामा क्रियाशील हुनुपर्छ भन्ने प्रस्ताव गरेको थिएँ । अहिले यो कुरा संभव छैन कसले छोड्न मान्छ र भन्ने कुरा उठ्यो । यसमा सबभन्दा पहिले म तयार छु भनेर मैले भनें । त्यसपछि बलदेव, मात्रिका र गणेश शाह कमरेडले यो प्रस्ताव मान्न आफूहरू तयार रहेको कुरा गर्नुभयो। केहीले यसमा आफूहरु तयार हुन नसकेको कुरा गर्नुभयो भने केही मौन बस्नुभयो । त्यसपछि छलफल गरौंला भनेर अध्यक्षले यसलाई टार्नुभयो। तर आजसम्म छलफल भएन,’ उनले भने, ‘मैले अध्यक्षलाई असहयोग नहोस् भनेर संगठन विभागको जिम्मा लिएर काम गरिरहको छु। पार्टीका हरेक बैठक भन्दा पहिले विभागको तर्फबाट प्रतिवेदन बुझाउने गरेको कुरा स्पष्ट गर्न चाहन्छु।’


ताजा समाचार