ओमानसँग दोस्रो पटक पनि चुक्यो नेपाल

काठमाडौँ। टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको रोमाञ्चक फाइनल खेलमा नेपाललाई ‘सुपर ओभर’ मा हराउँदै ओमानले उपाधि जितेको हो ।

फाइनलमा टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली ओमानले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनमात्र बनाएपछि खेल ‘सुपर ओभर’ मा गएको थियो ।  त्यसपछि ‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको ओमानले कुनै पनि विकेट नगमाई २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ‘सुपर ओभर’ मा एक विकेट गुमाएर १० रनमात्र बनाउन सक्यो ।

‘सुपर ओभर’ मा ओमानबाट बिलाल खान बलिङ गर्न आएका थिए । उनले पहिलो बलमै नेपालका कुशल भुर्तेललाई आउट गराए । दोस्रो बलमा बिलाल खानले कुनै रन दिएनन् । तेस्रो बलमा कुशल मल्लले एक रन बनाए । बिलाल खानको चौथो बलमा गुल्सन झाले एक रन लिए । पाँचौँ बलमा कुशल मल्लले चार रन बनाएका थिए । अन्तिम बलमा पनि कुशल मल्लले चौका प्रहार गरेका थिए । त्यसअघि नेपालले ‘सुपर ओभर’ मा बलिङ गर्ने जिम्मा अविनोष बोहरालाई लिएको थियो ।

त्यही निणर्य नै नेपाली टोलीको हारको कारण बन्न पुग्यो । अविनाषमा अनुभवको कमी देखियो । तनावपूर्ण अवस्थामा बलिङ गर्न आएका उनले अधिकांश बल ‘फुल टस’ फालेका थिए । त्यसमाथि उनले एउटा ‘वाइड बल’ पनि फालेका थिए ।  अविनोषको पहिलो बलमा ओमानका ब्याट्सम्यान अकिब इलियसले एक रन लिए । दोस्रो बलमा नसिम खुसीले छक्का प्रहार गरे । तेस्रो बलमा नसिम खुसीले रन लिन सकेनन् । चौथो बलमा नसिम खुसीले फेरि छक्का प्रहार गरे ।

पाँचौँ बल अविनाषले ‘वाइड’ फालेका थिए । त्यसलगत्तै अर्को बलमा नसिम खुसीले पुनः छक्का प्रहार गरेका थिए । अविनाषको अन्तिम बलमा नसिम खुसीले एक रन लिएका थिए । अविनोषले ‘सुपर ओभर’ मा २१ रन खर्चिएका थिए । त्यसअघि ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली ओमानका लागि ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीले ६३ रनको योगदान गरेका थिए । अकिब इलियसले पनि ३३ रन जोडेका थिए । कप्तान जिसन मक्सुदले २६ रन बनाएका थिए ।

आयान खानले १० रन बनाएका थिए भने मेहरान खानले पनि १० रन बटुलेका थिए । तल्लो क्रमका ब्याट्सम्यान मोहम्मद नदिमले भने अविजित २४ रन बनाएका थिए । सहज जिततर्फ अग्रसर रहेको ओमानलाई खेलको अन्त्यतिर नेपालका अनुभवी स्पिनर सन्दीप लामिछानेले अंकुश लगाएका थिए । अन्तिम ओभर बलिङ गर्न आएका सन्दीपले लगातार दुई विकेट लिएपछि ओमानको टोली दबाबमा परेको थियो । अन्तिम बलमा ओमानका ब्याट्सम्यान फयाज बट रन आउट भएका थिए । कप्तान रोहित पौडेलले उपलब्ध गराएको बलमा सन्दीप लामिछानेले उनलाई रन आउट गरेका थिए ।

त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो । नेपाली टोलीका लागि सन्दीपका अतिरिक्त करण केसीले पनि दुई विकेट लिए । सोमपाल कामी, गुल्सन झा, अविनाष बोहरा र बिवेक यादबले पनि एक—एक विकेट हात पारेका थिए । नेपाली ब्याट्सम्यानले फाइनलमा ओमानलाई ठूलो लक्ष्य दिए पनि नेपाली टोलीका बलर खासै प्रभावकारी देखिएनन् ।

ओमानको पहिलो विकेट नेपाली टोलीका बलर सोमपाल कामीले लिएका थिए । उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतिक अथावालेलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सोमपालले प्रतिकलाई एलबीडब्लूको धरापमा पारेका थिए । विकेटकिपर ब्याट्सम्यान प्रतिक आउट हुँदा ओमानले ३ ओभरमा २७ रन बनाएको थियो ।

ओमानको दोस्रो विकेट गुल्सन झाले लिएका थिए । गुल्सनले ओमानका ब्याट्सम्यान अकिब इलियसलाई पेभेलियन फर्काएका थिए । गुल्सनले ओमानका तेस्रो नम्बरका ब्याट्सम्यान अकिबलाई सन्दीप जोराद्वारा क्याच गराएका थिए ।  अकिबले टोलीका लागि ३३ रनको महत्वपूणर् योगदान गरेका थिए । उनले आक्रामक पाली खेल्दै केवल १९ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काएका थिए । उनी आउट हुँदा ओमानले ९‍.४ ओभरमा ९४ रन बनाएको थियो ।

ओमानको तेस्रो विकेट बिवेक यादबले लिएका थिए । उनले ओमानका ब्याट्सम्यान जिसन मक्सुदलाई पेभेलियन फर्काएका थिए । ओमानका कप्तानसमेत रहेका जिसनलाई बिवेकले कप्तान रोहित पौडलद्वारा क्याच गराएका थिए । जिसनले पेभेलियन फर्किनुअघि २६ रन जोडेका थिए । उनले १८ बलमा एक छक्का र दुई चौका प्रहार गरेका थिए । उनी आउट हुँदा ओमानले १५.२ ओभरमा एक सय ३६ रन बनाएको थियो ।

ओमानको चौथो विकेट अविनाष बोहराले लिएका थिए । उनले ओमानका प्रभावशाली ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीलाई आउट गराएका थिए । अविनाषले कश्यपलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि ओपनर ब्याट्सम्यान कश्यपले ६३ रन बनाएका थिए । उनले केवल ५२ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काएका थिए । कश्यप आउट हुँदा ओमानले १६.५ ओभरमा चार विकेट एक सय ४६ रन बनाएको थियो ।

ओमानको पाँचौँ विकेट पनि करण केसीले लिएका थिए । उनले ओमानका ब्याट्सम्यान निसाम खुसीलाई एक रनको ब्यक्तिगत स्कोरमा बिवेक यादबद्वारा क्याच गराएका थिए । निसाम आउट हुँदा ओमानले १७.१ ओभरमा पाँच विकेट एक सय ४७ रन बनाएको थियो । ओमानको छैठौँ विकेट पनि करण केसीले नै लिएका थिए । करणले ओमानका ब्याट्सम्यान मेहरान खानलाई १० रनको ब्यक्तिग स्कोरमा बिवेक यादबद्वारा क्याच गराएका थिए । करणले लिएको यो दोस्रो विकेट थियो । मेहरान आउट हुँदा ओमानले १७.४ ओभरमा एक सय ५७ रन बनाएको थियो ।

त्यसअघि टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालका लागि गुल्सन झाले ५४ रनको योगदान गरेका थिए । कप्तान रोहित पौडेलले पनि अविजित ५२ रन बनाएका थिए । उनले ३७ बलमा दुई छक्का र पाँच चौका हिर्काएका थिए । त्यसअघि उनले केवल ३६ बलमा अर्धसतक पुरा गरेका थिए ।  ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि ३१ रनको योगदान गरेका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले टोलीको खातामा १० रन थपेका थिए । करण केसीले अविजित अविजित २० रन जोडेका थिए । उनले ६ बलमा दुई छक्का र एक चौका हिर्काएका थिए ।

ओमानका बलर बिलाल खानले तीन विकेट लिएका थिए । बिलालले चार ओभरमा २६ रन खर्चिएका थिए । अकिब इलियसले पनि दुई विकेट हात पारेका थिए । जिसन मक्सुदले एक विकेट लिएका थिए । नेपाली टोलीले अतिरिक्त रुपमा सात रन पाएको थियो ।  नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ ६ बलमा एक छक्काको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए । उनलाई ओमानका बलर बिलाल खानले कश्यप प्रजापतीद्वारा क्याच गराएका थिए । २.४ ओभरमा पहिलो विकेट गुमाउँदा नेपालले १५ रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोरालाई गुमाएको थियो । उनी १३ बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई ओमानका बलर जिसन मक्सुद बोल्ड गरेका थिए । ६.१ ओभरमा दोस्रो विकेट गुमाउँदा नेपाली टोलीले ४७ रन बनाएको थियो ।
तेस्रो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल ३१ रन बनाउँदै आउट भएका थिए । उनले २२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनलाई ओमानका बलर अकिब इलियसले मेहरान खानद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ७.१ ओभरमा तीन विकेट गुमाएर ४९ रन बनाएको थियो ।

चौथो विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो । उनी नौ बलमा तीन रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई ओमानका बलर अकिब इलियसले प्रतिक अथावालेलेद्वारा क्याच गराएका थिए ।  उनी आउट हुँदा नेपालले १० ओभरमा चार विकेट गुमाएर ६० रन बनाएको थियो । पाँचौँ विकेटका रुपमा नेपालले गुल्सन झालाई गुमाएको थियो । उनले टोलीका लागि ५४ रनको महत्वपूणर् योगदान गरेका थिए । उनले २५ बलको सामना गरी चार छक्का र पाँच चौका प्रहार गरेका थिए । त्यसअघि उनले २० बलमा अर्धसतक पुरा गरेका थिए।

६० बलमा चौथो विकेट गुमाएको नेपालको स्कोरलाई कप्तान रोहित पौडेल र गुल्सन झाले एक सय ३८ रनको स्थितिमा पुर्‍याएका थिए । गुल्सनलाई ओमानका बलर बिलाल खानले सकिल अहमदद्वारा क्याच गराएका थिए । छैठौँ विकेटका रुपमा नेपालले बिवेक यादबलाई एक रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियाे । उनलाई ओमानका बलर बिलाल खानले आउट गराएका थिए । बिलालले आफ्नो बलिङमा बिवेकको क्याच आफैले लिएका थिए । बिवेक आउट हुँदा नेपालले १८.२ ओभरमा एक सय ५२ रन बनाएको थियो ।

फाइनलमा पराजित भए पनि नेपाली टोली आगामी वर्ष आयोजना हुने टी—२० विश्वकपमा भने छनोट भएको छ । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकप खेल्न पाउने प्रावधान थियो ।


ताजा समाचार