आर्सनल, वायर्न र रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौँ। इंग्लिस क्लब आर्सनल, जर्मन क्लब वायर्न म्युनिख र स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।

सेभिल्लालाई २-० गोलले पराजित गर्दै आर्सनल, गलातासरेलाई २-१ गोलले पराजित गर्दै वायर्न र ब्रागालाई ३-० गोलले पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको नक आउट चरणमा पुगेको हो।

सेभिल्लालाई पराजित गर्न आर्सनलका लिन्ड्रो ट्रोसार्डले २९ मिनेटमा र बुकायो शाकाले ६४ मिनेटमा गोल गरेका थिए।

ब्रागाविरूद्ध ३ गोल गरेको रियलका लागि ब्रहिम डियाजले २७ मिनेटमा, भिनिसियस जुनियरले ५८ औं मिनेटमा र रोड्रिगो ६१ औं मिनेटमा गोल गरेका थिए।

गलातासरेविरूद्ध वायर्नको दुबै गोल ह्यारी केनले गरेका हुन्। केनले ८० र ८६ औं मिनेटमा गोल गरेका थिए। इन्ज्युरी समयमा गलातासरेका सेड्रिक बकम्बुले एक गोल फर्काएका थिए।

वायर्न समूह ‘ए’, आर्सनल समूह ‘बी’र रियल मड्रिड समूह ‘सी’को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन्। रियल र वायर्न जारी सिजनमा अपराजित छन् भने आर्सनल एक खेलमा पराजित भएको थियो।

यसअघि म्यानचेष्टर सिटी पनि लिगको नक आउट चरणमा प्रवेश गरिसकेको छ।


ताजा समाचार