त्रिभुवन आर्की क्लबलाई पराजित गर्दै पर्सा ११ प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनलमा

वीरगञ्ज। लिग चरणभर अपराजित रहेको विभागीय टोली त्रिभुवन आर्की क्लबलाई पराजित गर्दै पर्सा ११ प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जस्थित नारायणी रंगशालमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा पर्सा ११ ले आर्मीलाई अप्रत्यासित रुपमा ३१ रनले हरायो । घरेलु टोली पर्सा ११ ले अब शुक्रबारै हुने नेपाल पुलिस क्लब र वन्डर्स क्लब नोएडाको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

राष्ट्रिय खेलाडीका कप्तान रोहित पौडेलसहित राष्ट्रिय टिमका खेलाडीको वर्चस्व रहेको आर्मीले पर्सा ११ ले दिएको १०० रनको लक्ष्य पनि भेट्टाउन सकेन । आर्मी १६.२ ओभरमा ६८ रनमै अलआउट भयो ।

आर्मीका लागि कुशल मल्लले २१ बलमा १९ र बसिर अहमदले १५ बलमा १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीलाई अलआउट गर्न पर्सा ११ का कप्तान सन्दीप लामिछानेले ३.२ ओभरमा १३ रन मात्र खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै अनिल साह, पवन सर्राफ र संसद मन्सुरीले २-२ तथा रञ्जित कुमारले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पर्सा ११ ले १९.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सकेको थियो ।

पर्साका लागि संसद मन्सुरीले १७, अनिल शाह र रुपेश सिंहले १५-१५, पवन सराफले ११ रन बनाएका थिए । आर्मीका सोमपाल कामीले ३.४ ओभरमा २० रन खर्चेर ४ तथा कुशल मल्लले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ३ विकेट लिए । शहाब आलमले ४ ओभरमा १० नर खर्चेर २ विकेट लिए ।


ताजा समाचार