आईपीएल : आज दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बुधवार ३२औँ खेल खेलिँदै छ । बुधवारको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा गुजरात टाइटन्सको यो सातौँ खेल हो । गुजरातले यसअघि खेलिएको ६ मध्ये तीन खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । हाल गुजरात ६ अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसीन छ ।

गुजरातले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । गुजरात आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किङ्ससँग ६३ रनले पराजित भएको थियो । तेस्रो खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।

चौथो खेलमा गुजरातको टोली पन्जाब किङ्ससँग तीन विकेटले पराजित भएको थियो । पाँचौँ खेलमा गुजरातलाई लखनउ सुपर जाइन्ट्सले ३३ रनले पराजित गरेको थियो । छैटौँ खेलमा भने गुजरातले राजस्थान रोयल्सलाई तीन विकेटले पाखा लगाएको थियो।

यसैगरी जारी आईपीएलमा दिल्ली क्यापिटल्सको पनि यो सातौँ खेल हो । दिल्लीले यसअघि खेलिएको ६ मध्ये दुई खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । दिल्ली क्यापिटल्स हाल चार अङ्कसहित तालिकाको नवौँ स्थानमा आसीन छ ।

दिल्ली आफ्नो पहिलो खेलमा पन्जाब किङ्ससँग चार विकेटले र दोस्रो खेलमा राजस्थान रोयल्ससँग १२ रनले पराजित भएको थियो । तेस्रो खेलमा भने दिल्लीले चेन्नई सुपर किङ्सलाई २० रनले पराजित गरेको थियो ।

चौथो खेलमा दिल्लीलाई कोलकाता नाइट राइडर्सले एक सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पाँचौँ खेलमा मुम्बई इन्डियन्सले पनि दिल्लीलाई २९ रनले हराएको थियो । छैटौँ खेलमा भने दिल्लीले लखनउ सुपर जाइन्ट्सलाई ६ विकेटले पराजित गरेको थियो । एजेन्सी


ताजा समाचार