विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन एमालेका शीर्ष नेताहरूमा हानाथाप

काठमाडौं। ०७९ फागुन २५ गते गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि झण्डै ८ वर्षसम्म सम्हाल्दै आएको राष्ट्रपतिको पदबाट बिदा भएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आम मानिसले सोधिरहने एउटै प्रश्न हो अब सक्रिय राजनीतिमा कहिले फर्किने ? , एक वर्षदेखि एउटै प्रश्नको सामना गरिरहेकी भण्डारीले यसबारेमा कुनै पनि प्रतिउत्तर दिएकी छैनन् । तर, कार्यकर्ता र सर्वसाधराणले राखेको जिज्ञासाको उत्तर नदिएपनि भण्डारी सक्रिय राजनीतिमा फर्किने अड्कलवाजी भइरहेका छन् ।

३ असोज ०७२ मा संविधान जारी भएपछि ११ कात्तिकमा पहिलोपटक राष्ट्रपति निर्वाचित भण्डारीले करिब दुई वर्ष चार महिना कार्यकाल सम्हालिन् । ०७४ को निर्वाचनपछि २९ फागुन ०७४ मा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित उनले २८ फागुन ०७९ मा पाँचवर्षे कार्यकाल पूरा गरेकी थिइन् ।

भण्डारी सक्रिय राजनीतिमा फर्किने अड्कलबाजीका बीच हालैका केही कार्यक्रममा देखाएको सक्रियताले भने उनी साँच्चै राजनीतिमा फर्किन लागेको कुरालाई बल पुगेको देखिन्छ । गत वैशाख १० गते नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७५औं स्थापना दिवसको अवसरमा भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मानीत गर्यो । एमालेले नेकपा स्थापनाको ७५औं वर्ष पुगेको अवसरमा मनाएको हीरक महोत्सवमा भण्डारी प्रमुख अतिथि थिईन् । उनलाई सोही कार्यक्रममा ‘गणतन्त्र गौरव’ बाट सम्मान गरिएको हो ।

गणतन्त्र गौरव सम्मान थाप्न गोदावरीस्थित सनराइज हलमा पुगेकी भण्डारीले केही अभिव्यक्ति दिईन् । भण्डारीले ७५ वर्ष इतिहास बोकेको कम्युनिष्ट पार्टी आज किन टुटफुट र गुटबाट विभाजीत छ ? देश विकासका लागि सबै कम्युनिष्ट पार्टी एकजुट हुनुको विकल्प छैन भन्दा उनको समर्थनमा तालीले गडगडाहट छाएको थियो ।

‘नेपाली कम्युनिष्ट आन्दोलनमा पटक-पटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकाङ्क्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्छ’ उनले भनेकी थिईन् ।

३ दिन अघिमात्रै एमालेले आयोजना गरेको हीरक महोत्सवमा पुगेकी भण्डारी बिहीबार फेरि एमालेले नै आयोजना गरेको अर्को कार्यक्रममा पुगेकी छन् । त्यो पनि प्रमुख अतिथि बनेर । एमालेका पूर्व अध्यक्ष तथा दक्षिण एसियाकै पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औं स्मृति दिवसको अवसरमा एमालेले सानेपामा आयोजना गरेको कार्यक्रममा भण्डारी सहभागी भएकी छन् । उनले हीरक महोत्सवमा दिएकै जस्तो अभिव्यक्ति दिँदै कम्युनिष्ट पार्टीबीच एकता र सहकार्य हुनुपर्नेमा जोड दिएकी छन् ।

हीरक महोत्सव र मनमोहन स्मृति दिवसमा सहभागी भएकी भण्डारी १६ र १७ जेठमा हुने २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेलाको प्रमुख आतिथि बन्दैछिन् ।

२९ फागुन ०७९ मा राष्ट्रपतिबाट अवकाश भएपछि भण्डारी पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागी भएकी छैनन् । उनी प्रमुख अतिथि रहने महिला भेलाको समापन भने अध्यक्ष केपी ओलीले गर्ने तय भएको छ । दुई कार्यकाल राष्ट्रपति भएर देशको अभिभावकत्व गरेकी भण्डारी त्यसअघि एमालेको उपाध्यक्ष र अखिल नेपाल महिला संघको अध्यक्ष थिइन् ।

त्यासो त, राष्ट्रपति निर्वाचित हुनुअघि भण्डारी एमालेको शक्तिशाली उपाध्यक्ष रहेकी थिईन् । अध्यक्ष ओलीपछिको शक्तिशाली उपाध्यक्ष रहँदाकै अवस्थामा उनी ०७२ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएकी थिईन् । राष्ट्रपतिको भूमिकामा रहँदा पनि भण्डारीले गुटको राजनीति गरेको आरोप पार्टीभित्रको एउटा खेमाले लगाउँदै आएको थियो । प्रत्यक्ष र परोक्ष रुपमा पनि भण्डारीले आफू निकटलाई लाभको अवसर दिलाएको देखिन्छ । जसको एउटा उदाहरण हो, राष्ट्रपतिको विकास विज्ञ रहेकी डा। विमला राई पौड्याललाई राष्ट्रिय योजना आयोगको सदस्य, राष्ट्रिय सभाको सदस्य मनोनीतदेखि छोटो समय परराष्ट्रमन्त्री बनाएको ।

भण्डारीनिकट नेताहरुका अनुसार उनी दोस्रो पटक राष्ट्रपति बन्ने मनसायमा थिईनन् । उनी एक कार्यकाल राष्ट्रपति भईसकेपछि सक्रिय राजनीतिमा फर्किने र एमालेको १० औं महाधिवेशनमा पार्टी अध्यक्ष बन्ने योजनामा थिईन् । तर, तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेपछि भण्डारीको योजनाले सार्थकता पाउन सकेन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको जोडवलमा भण्डारी फेरि राष्ट्रपतिमा निर्वाचित भईन् । यसबीचमा नेकपा फुट्यो भने एमालेपनि विभाजन भयो । पार्टी विभाजनको चोटलाई सहँदै एमालेले १० औं महाधिवेशन सम्पन्न गर्यो । ओली नै पुनस् पार्टीको नेतृत्वमा पुगे ।

राजनीतिमा फर्किने उदेश्यले राष्ट्रपतिबाट विदा हुँदा भण्डारीले भीआईपीका नाममा प्राप्त हुने कुनै पनि सेवासुविधा नलिने घोषणा गरेकी छन् । उनले हाल सरकारबाट उपलब्ध हुने कुनैपनि सेवासुविधा लिएकी छैनन् ।

एमालेका एकथरी नेताहरू सक्रिय राजनीतिमा भण्डारीलाई फर्काएर भावी अध्यक्षको रूपमा अगाडि बढाउनुपर्ने प्रयासमा छन्। अर्काथरी नेताहरू भने भण्डारीलाई विश्राम दिनुपर्छ भन्ने पक्षमा छन् ।

सक्रिय राजनीतिमा ल्याउनुपर्छ भन्ने पक्षका नेताहरूको समूहमध्येका केहीले सार्वजनिक रूपमा अभिव्यक्ति दिएका पनि थिए । अनि, बाक्लो भेटघाट पनि गरेका थिए । अझ प्रदेश अधिवेशनमा भण्डारीको साथ सहयोग माग्ने र समूहबद्ध प्रतिस्पर्धाको प्रयास पनि भएको थियो । अर्काथरी नेताहरू भने भण्डारीको व्यवस्थापन गरेर एमालेमा सदाका लागि बाटो बन्द गर्ने पक्षमा छन् ।

भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन एमालेभित्रको एउटा पंक्ति विगतदेखि नै लागिपरेको छ । भण्डारीलाई राजनीतिमा ल्याउनसके सबै कम्युनिष्ट पार्टीहरु एकजुट हुनसक्ने विश्वासका साथ एमालेको एउटा तप्का जवरजस्तरुपमा भण्डारीलाई राजनीतिमा ल्याउन लागिपरेको देखिन्छ । एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल,नेताहरु शेरधन राई, विमला राई पौडेल, भानुभक्त ढकाल, कर्ण थापा, गोकुल बास्कोटालगायतका दर्जनौ नेताहरु भण्डारी राजनीतिमा आए हुन्थ्यो भन्ने पक्षमा देखिन्छन् ।

पोखरेल भण्डारी राजनीतिमा आउन चाहे आफूहरु बाधक नहुने बताउँछन् । अन्तराष्ट्रिय अभ्यास, संवैधानिक जटिलता, स्वयं व्यक्तिको इच्छा र कार्यकर्ताको भावनालाई बुझेर भण्डारीले निर्णय लिएमा आफूहरु स-सम्मान स्वीकार गर्न तयार रहेको पोखरेलको भनाई छ ।

एमालेको एउटा पंक्ति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन लागि परेपनि स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओली भने त्यति इच्छुक देखिँदैनन् । २ पटक राष्ट्रपति भईसकेको र राष्ट्रले अभिभावक मानेको व्यक्ति फेरि राजनीतिमा फर्किँदा राम्रो सन्देश नजाने भन्दै ओलीले रोक्ने प्रयास गरिरहेका छन् । प्रष्टरुमा कुनैपनि धारणा सार्वजनिक नगरेपनि भण्डारी राजनीतिमा आउन लागेकोबारे ओली सन्तुष्ट छैनन् । ओली प्रथम राष्ट्रपति रामवरण यादवको उदाहरण दिँदै भण्डारी पनि राजनीतिमा फर्किन नहुने लाइनमा छन् ।

तर, उमेरले भर्खरै ६१ वर्षमात्र भएको र सबै पार्टीलाई मिलाएर नेतृत्व गर्ने क्षमता भएको भन्दै भण्डारीलाई राजनीतिमा ल्याउन एमालेमा मात्र नभएर अन्य कम्युनिष्ट पार्टीले पनि उत्तिकै जोड गरिरहेका छन् । हीरक महोत्सवका प्रमुख अतिथि रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त भण्डारी २ पटक राष्ट्रपति हुँदा आफ्नो पार्टीले प्रस्ताव गरेको भन्दै उनलाई राजनीतिमा आए सहयोग गर्ने संकेत गरेका छन् । त्यसो त भण्डारीलाई राजनीतिमा ल्याएर एमाले र माओवादीबीच पार्टी एकता गर्ने र भण्डारीलाई अध्यक्ष बनाएर नेपालकै पहिलो महिला प्रधानमन्त्री बनाउनेगरि गृहकार्यमा केही नेताहरु लागिरहेका छन् । तर, स्वयं भण्डारीले नचाहँदासम्म कार्यकर्ताको सो योजनाले भने मुर्त रुप लिने देखिँदैन् ।

भण्डारीलाई राजनीतिमा फर्किन अध्यक्ष अ‍ोलीले रोकेपनि उनलाई सहज भने देखिँदैन । हालपनि एमालेको केन्द्रीय तहमा रहेका ठूला संख्यामा नेता-कार्यकर्ता हरु भण्डारीको पक्षमा छन् । जुन दृश्य प्रदेशदेखि जिल्ला अधिवेशनसम्म प्रष्टै देखिएको छ। भण्डारीलाई राजनीतिमा आउन रोकेपनि एमालेको नेतृत्वले उनका मागहरु पूरा गर्नुपर्ने बाध्यता सदैव देखिएको छ । विभिन्न पदमा नियुक्तिदेखि मनोनीतसम्ममा भण्डारीको चित्त बुझाउनुपर्ने बाध्यतामा छन् अध्यक्ष ओली ।


ताजा समाचार