आईपीएल : दोस्रो खेल चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच खेलिने

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेलिने छ । उक्त खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो ३ः ४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो खेल चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच खेलिने छ । उक्त खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः ४५ बजे सुरु हुनेछ । चेन्नई र हैदराबादबिचको खेल जारी आईपीएलको ४६ औँ खेल हो ।

जारी सिजनको आईपीएलमा चेन्नई र हैदराबाद दोस्रो पटक भिडन्त गर्न लागेका हुन् । यसअघि खेलिएको पहिलो खेलमा हैदराबादले चेन्नईलाई ६ विकेटले हराएको थियो । यी दुवै टोलीले यो सिजनको आईपीएलमा आफ्नो नवौँ खेल खेल्न लागेका हुन्।

सनराइजर्स हैदराबादले यसअघि खेलिएको आठमध्ये पाँच खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । हैदराबाद १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ । १६ अंकसहित राजस्थान रोयल्स पहिलो र १० अंकसहित कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा छन् ।

चेन्नईले भने यसअघि खेलिएको आफ्नो आठमध्ये चार खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । चेन्नई आठ अंकसहित तालिकाको छैटौँ स्थानमा आसिन छ ।


ताजा समाचार