टी-२० विश्वकप : अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं। अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बुधवार बिहान अफगानिस्तान र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन्।

दुवै टोली पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुग्ने प्रयासमा छन्। अफगानिस्तानले पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको हो भने दक्षिण अफ्रिकाले तेस्रो पटक अन्तिम चारमा स्थान बनाएको छ। दक्षिण अफ्रिका यसअघि २००९ र २०१४ को संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो।

अफगानिस्तानले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै बलिया टोलीहरूमाथि एकपछि अर्को जित हात पारेको छ। पहिलो चरणमा उसले न्युजिल्यान्ड, युगान्डा र पपुआन्युगिनीलाई हराएको थियो भने वेस्ट इन्डिजसँग पराजित भएको थियो। सुपर एटमा अस्ट्रेलिया र बंगलादेशलाई हराएको अफगानिस्तान भारतसँग भने पराजित भएको थियो।

दक्षिण अफ्रिकाले पहिलो चरणमा बंगलादेश, श्रीलंका, नेपाल र नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। सुपर एटमा उसले इङ्ल्यान्ड, वेस्ट इन्डिज र अमेरिकामाथि शतप्रतिशत जित निकालेको थियो। दक्षिण अफ्रिकाले एकदिवशीय विश्वकपमा पनि सेमिफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेको छैन। अफगानिस्तानले अहिलेसम्म दक्षिण अफ्रिकालाई हराएको छैन।

जारी विश्वकपमा अफगानिस्तानका रहमनुल्लाह गुर्बाज सर्वाधिक २८१ रन जोडेर तीन अर्धशतकसहित उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। इब्राहिम जद्रानले पनि २ अर्धशतकसहित २२९ रन बनाएका छन्। दक्षिण अफ्रिकाका लागि क्विन्टन डी कोकले सर्वाधिक १९९ रन जोडेका छन्।

बलिङतर्फ अफगानिस्तानका फजालहक फारुकी शीर्षस्थानमा छन्। उनले १६ विकेट लिएका छन्। रसिद खानले १४ र नवीन उल हकले १३ विकेट लिएका छन्। दक्षिण अफ्रिकाका एनरिच नोर्त्याले ११ र कागिसो रबडाले १० विकेट लिएका छन्।


ताजा समाचार