शक्ति गौचन लुम्बिनीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेटका पूर्व स्पिन अलराउन्डर शक्ति गौचन नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त भएका छन् ।

लुम्बिनीका मालिक ईश्वर जिसी र शक्ति गौचनबीच शनिबार एक सम्झौता भएको छ । ‘एनपीएल नेपाली क्रिकेटको एउटा ठूलो प्लेटफर्म हो । आउने अक्सनमा मैले कडा मिहिनेत गरेर राम्रो टिम बनाउन प्रयास गर्नेछु । क्यान र लुम्बिनी टोलीलाई धन्यवाद’, शक्तिले सम्झौता कार्यक्रममा भने ।

नेपालका सफल खेलाडी शक्ति २०१८ मा सन्यास लिएपछि भैरहवामा आफ्नो स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षणमा व्यस्त छन् । कुशल मल्ल र सुशान भारी शक्तिले नै उत्पादन गरेका खेलाडी हुन् । शक्तिले २०२१ को एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजमा बलिङ प्रशिक्षकको रुपमा काम गरेका थिए ।

लुम्बिनीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल छन् । एनपीएलको अक्सन आइतबार काठमाडौंमा हुदैछ ।


ताजा समाचार