भिसा समस्याका कारण रोहित र दीपेन्द्रले क्यारेवियन टि टेन लिग नखेल्ने

काठमाडौं।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेवियन टि टेन लिग नखेल्ने भएका छन् ।

टि टेनले गत महिना खेलाडी छनोटका लागि भएको ड्राफ्टबाट अनुबन्ध गरे पनि भिषा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा भाग नलिने भएका हुन् ।

‘भिसा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा सहभागी हुने छैनन्,” उनीहरुका नेपाली व्यवस्थापक रवि तिमिल्सिना भने,’वेस्ट इन्डिज जाने प्रकृया नमिलेका कारण दुवै जना क्यानडामा नै रहने छन् ।’

क्यानडामा आगामी महिना हुने विश्वकप लिग २ अन्तर्गतको सिरिजका लागि उनीहरुले अब त्यही अभ्यास गर्ने उनले जानकारी दिए।

‘ निरन्तर अभ्यासमा नै रहेका छन् । केही दिन अघिसम्म दुवै जना ग्लोबल टि ट्वान्टी लिगमा आ आफ्नो टिमबाट खेलिरहेका थिए। अहिले लिग सकिएपछि पनि अभ्यास गरिरहेका छन् ,’ व्यवस्थापक तिमिल्सिनाले भने ।

टि टेनका‌ लागि कप्तान रोहित मियामी लायन्समा र दीपेन्द्र भने ग्रैंड क्यामन स्टिंर्गेसमा अनुबन्ध भएका थिए । रोहित आबद्ध मियामिमा सोयब मल्लिक, डोयन ब्राबो, रवि भोपारा, कोरि एन्डरसन लगायतका खेलाडी रहेका छन् ।

दीपेन्द्र आबद्ध क्यामनमा भने एलेक्स हेल्स, रोविन उथप्पा, बेन डुक, जोशुवा लिटिल लगायतका खेलाडी आबद्ध रहेका छन्।

नेपाली क्रिकेट टोली अभ्यासको लागि भारतमा रहेको छ । नेपालले भारतको बेंग्लोरमा रहेको नेसनल्स क्रिकेट एकेडेमी ९एनसिए० मा दुई साता अभ्यास गर्नेछ ।

भारतमा हुने अभ्यासमा रोहित, दीपेन्द्र सहित सन्दीप लामिछाने पनि रहने छैनन् । सन्दीप पनि क्यानडामा नै छन् ।

(हाम्रो खेलकुद)


ताजा समाचार