अमेरिकी संसदभित्र गोली चल्यो, वाशिङ्टन डिसीमा कर्फ्यू

एजेन्सी। अमेरिकी संसद भवन भित्र गोली चलेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका हुन । यो घटनामा गोली लागेर एकजना महिलाको मृत्यु भएको छ। अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ।

अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो। सदनभित्र बहस चलिरहेका बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। झ्याल र ढोका तोडफोड गरेर हतियारसहित ट्रम्प समर्थक भित्र पसेका थिए।

संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भएको थियो। प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन्। बुधबार बेलुका ६ बजेदेखि सुरु भएको कर्फ्यु आदेश बिहीबार बेलुका ६ बजेसम्म जारी रहनेछ। कर्फ्यूका बावजुद पनि संसद भवन क्षेत्र वरपर प्रदर्शनहरु भैरहेका छन ।

संसद भवनमा भएको आक्रमण लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेको बिबिसीले जनाएको छ।

अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू गर्ने प्रयास गरेको भन्दै उनले लोकतन्त्रमाथि हमला भएको उनले टिप्पणी गरेका छन्। कमला ह्यारिस लगायत जर्ज बुसले समेत अमेरिकी संसदमा भएको आक्रमण लोकतन्त्रका लागि शोभनीय नभएको प्रतिक्रिया दिएका छन्।

प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरे र अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गर्न थाले । यसै क्रममा हिंसा सुरु भयो । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्डस् एक्सनमा उत्रियो । क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने एक महिलालाई गोली लाग्यो । ती महिलाको अस्पतालमा मृत्यु भयो । उनको परिचय भने खुलेको छैन । करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा भएको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी भइरहेको छ ।

यस हिंसाका बीच राष्ट्रपतिमा निर्वाचिन बाइडनले ट्रम्पसँग हिंसालाई अन्त्य गर्न र संविधानको रक्षा गर्न अपिल गरेका छन् ।


ताजा समाचार