कञ्चनपुरमा महिलालाई मारेको बाघ नियन्त्रणमा

धनगढी। कञ्चनपुरको बेलौरी नगरपालिका–८ को खप्टीनालामा स्थानीय महिलालाई आक्रमण गरेर मारेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ।

घाँस काट्ने क्रममा आक्रमण गरेर सोही ठाउँ बस्ने गंगा चन्दलाई लगेको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले खप्टीनाला नजिकै झाडीमा बसेको अवस्थामा बाघलाई नियन्त्रणमा लिएको बताए। बेहोस बनाएर नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा छाड्ने तयारी छ।

आक्रमणमा परेकी गंगादेवी चन्दको शव पनि बाघ नियन्त्रणमा लिएको स्थानमै फेला परेको छ। उनको शव परीक्षणका लागि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।


ताजा समाचार