प्रधानमन्त्री रोजगार कार्यक्रम कटौती गर्ने प्रचण्डको संकेत

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री रोजगारलगायतका कार्यक्रम यसपटकको बजेटबाट कटौती गर्ने संकेत गरेका छन्।

सोमबार माओवादी केन्द्रका पदाधिकारीहरुसँग बालुवाटारमा भएको अनौपचारिक छलफलमा सरकारले बनाइरहेको नीति तथा कार्यक्रमबारे ‘ब्रिफिङ’ गर्दै प्रधानमन्त्रीले त्यस्ता कार्यक्रम कटौती गरेर उत्पादन तथा रोजगारी सिर्जना हुने खालका कार्यक्रम ल्याउने बताएका हुन्।

‘अनावश्यक बजेट छरिने खालका जुन आयोजना छन्, त्यसलाई स्थगित गर्ने र रोजगारी, कृषि र उत्पादनमा जोड दिएर अर्को एउटा नयाँ प्रोजेक्ट बनाएर जाने सम्भावना देखियो’, छलफलमा सहभागी एक पदाधिकारीले भने।

प्रधानमन्त्रीले प्रधानमन्त्री रोजगार लगायतका ५/७ वटा कार्यक्रम कटाएर जाने संकेत गरेको अर्का एक पदाधिकारीले पनि अनलाइनखबरलाई बताए। ‘प्रधानमन्त्री रोजगार जस्ता परिणाम नभएका ५/७ वटा कार्यक्रम कटाउने कुरा छ’, ती पदाधिकारीले भने, ‘तिनीहरु कटाउने, रोजगार र उत्पादनसँग सम्बन्धित कार्यक्रममा जोड गर्दै छौं भनेर प्रधानमन्त्रीले भन्नुभयो।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगार नागरिकलाई कम्तीमा १०० दिन रोजगारी दिनेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका थिए । त्यसपछि यो कार्यक्रमले निरन्तरता पाउँदै आएको थियो ।


ताजा समाचार