लखनउलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको बुधबार राति भएको इलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सलाई ८१ रनको फराकिलो अन्तरले हराएको छ।

जितसँगै मुम्बई प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। लखनउ भने उपाधि होडबाट बाहिरिएको छ। अब मुम्बईले प्रतियोगिताको दोस्रो क्यालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ। उक्त खेलमा विजयी हुने टोलीले चेन्नई सुपर किङ्ससँग उपाधिका लागि भिडन्त गर्नेछ।

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो। जवाफी ब्याटिङमा ओर्लिएको लखनउले भने १६.३ ओभरमै अलआउट हुनुअघि १ सय १ रनमात्र बनाउन सक्यो ।

मुम्बईको जितमा आकाश मधवाल नायक बने । लखनउलाई विजयलक्ष्यसम्म पुग्न नदिन उनी एक्लैले ५ विकेट लिए। माधवालले ३.३ ओभर बलिङ गर्दै केवल ५ रन खर्चिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

पियुष चावला र क्रिस जोर्डनले पनि १/१ विकेट हात पारे । लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ४० रन बनाए। ओपनर काइली मायर्सले १८ र दिपक हुदाले १५ रन जोडे । लखनउका अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् ।

त्यसअघि मुम्बईका लागि क्यामरुन ग्रिनले ४१ रन बनाएका थिए । सूर्यकुमार यादबले पनि ३३ रन बटुले । तिलक बर्माले २६ र नेहाल बधेराले २३ रन जोडे । ओपनर इशान किसनले पनि टोलीको खातामा १५ रन थपे । लखनउका बलर नविन उल हकले ४ र यश ठाकुरले ३ विकेट लिए ।


ताजा समाचार