भ्रष्टाचारविरुद्ध काम गर्दा सरकार घेराबन्दीमा पर्‍यो: सञ्चारमन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् ।

प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारणसभा तथा २१ औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

सरकारले भ्रष्टाचारविरुद्ध काम गर्दा घेराबन्दी भएको उनको भनाइ छ ।

विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइन् । सरकारको प्रवक्ता समेत रहेकी शर्माले संसदमा सानो संख्यामा भएपनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको पनि बताइन् ।

गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढंगबाट प्रचार गर्नुपर्ने उनको भनाइ छ ।

उनले भनिन्– ‘विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौं, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौं । चुनौतीहरु अझ डरलाग्दा छन् । त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ ।’  मन्त्री शर्माले गणतन्त्र दिवस, जनयुद्ध र जनआन्दोलनमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गर्दै मनाउन सर्कुलर गरेको जानकारी दिइन् ।


ताजा समाचार