बलात्कार मुद्दामा सन्दीपलाई ७ देखि १० वर्ष सजाय हुनसक्ने

काठमाडौं। बलात्कार मुद्दामा दोषी ठहर भए पनि क्रिकेटर सन्दीप लामिछानेले तत्काल जेल जानु नपर्ने भएको छ।

पीडित भनिएकी किशोरी गौशाला २६ लाई जिल्ला अदालत काठमाडौंले बालिग ठहर गरेसँगै दोषी मानिए पनि सन्दीपलाई केही राहत मिलेको हो।

पीडित भनिएकी किशोरी बालिग भएको ठहरपछि सन्दीपका लागि अब पुस २५ मा हुने अर्को सुनुवाइका क्रममा कम्तीमा ७ देखि १० वर्ष सजाय निर्धारण हुन सक्छ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सन्दीपलाई सजायको फैसला न्यायाधीश शिशिरराज ढकालले गरेका हुन्।

जाहेरवालीलाई बालिग भनेर जिल्ला अदालतले व्याख्या गरेसँगै बलात्कारमा दोषी सन्दीपलाई राहत पनि मिलेको हो। अदालतले यो मुद्दामा सन्दीपले युवतीको सहमतिबिना यौनसम्बन्ध राखेको पनि ठहर गरेको छ।

यस्तो अवस्थामा १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।

१० वर्षभन्दा कम सजाय निर्धारण हुने अवस्थामा सन्दीपले अब तत्काल जेल जानु नपर्ने भएको हो। उनले अब जेलबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न भने पाउँछन्।

अदालतबाट दोषी ठहर भएसँगै अब सन्दीपको खेल करिअरमा भने पूर्णबिराम लाग्ने अवस्था आएको छ। यसअघि २०७९ पुस २८ गते उच्च अदालतको आदेशबाट थुनामुक्त भएका सन्दीप राष्ट्रिय टोलीमा फर्किएर खेलिरहेका थिए।


ताजा समाचार