नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्न थाल्यो

काठमाडौँ। नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्न थालेको छ। भारतका व्यवसायी तथा कृषकहरु सीमा विवादको मारमा पर्न थालेको समाचार प्रकाशमा आएको हो।

भारतको हिमाचल प्रदेश स्याउका लागि प्रख्यात छ। हिमाचल प्रदेशको स्याउ भारतका सबैजसो मुख्य बजारमा पुग्ने गर्दछ । स्याउको सिजन सुरु हुन थालेको छ। करिब एक महिनामा हिमाचल प्रदेशका स्याउ बजारमा जान तयार हुन्छन्।

स्याउ किसान तथा व्यवसायीहरु भने यतिबेला छट्पटीमा परेका छन्। यो सिजनको स्याउ बजारमा कसरी पु(याउने भन्ने चिन्तामा उनीहरु छट्पटिन थालेका हुन्।

करिब पाँच लाख नेपाली मजदूर हिमाचल प्रदेशमा स्याउको अर्थव्यवस्थाका मेरुदण्ड मानिन्छन्। अप्रिल यता नेपाली मजदूर स्याउ बगानमा फर्किएका छैनन्।

सुरुमा कोरोना महामारी र लकडाउनले उनीहरु बगानमा पुग्न सकेका थिएनन् भने अहिले भारत–नेपाल सम्बन्ध बिग्रिएका कारण उनीहरु बगानमा फर्कने अनिश्चित बनेको हो। लकडाउनको समयमा घर नगई बसेका मजदूर पनि पछिल्लो समय घर फर्किएका कारण हिमाचल प्रदेशका स्याउ बगानमा मजदूरको चरम अभाव भएको हो।

सामान्यतया, नेपाली मजदूर स्याउ टिप्नका लागि सिजन सुरु हुनुअघि अर्थात् मार्च–अप्रिलदेखि नै हिमाचल प्रदेशमा पुग्ने गरेका थिए। उनीहरु स्याउ टिप्ने, डिब्बामा प्याकेजिङ गर्ने, ट्रकमा लोड गर्ने कामसमेत गर्दथे।

बीबीसी हिन्दीसँग हिमाचल प्रदेशका बागवानी मन्त्री नरेन्दर ब्राग्ताले भने, ‘बगानमा मजदूरको संकट छ, यो निश्चित रुपमा चिन्ताजनक छ। हाम्रो प्रयासका बाबजुद नेपाली मजदूरले यो सिजनमा आउने इच्छा गरेका छैनन्, व्यक्तिगत रुपमा म पनि निकै कोशिस गरिरहेको छु तर मलाई धेरै आशा छैन।’

मन्त्री ब्राग्ताको आफ्नै पनि स्याउ बगान छ। उनका अनुसार मुख्यमन्त्री जयराम ठाकुरले नेपाली मजदुरको अभावका बारेमा विदेशमन्त्रालयमा कुरा राखिसकेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहसँग पनि यसबारे सम्पर्कका लागि उनले प्रस्ताव गरिसकेको बताइएको छ।

कुटनीतिक रुपमा केही प्रयास भए पनि स्थिति अनुकुल नदेखिएको मन्त्री ब्राग्ताको भनाइ छ । थिओगबाट निर्वाचित भारतीय कम्युनिस्ट पार्टी ९एम० का विधायक राजेश सिंघाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘अब उनीहरु (नेपाली मजदूर) को द्विविधा कोरोना भाइरसका कारण होइन, मेरो विचारमा उनीहरु भारत र नेपालबीच दुश्मनीको बढ्दो भावनाका बारेमा बढी सशंकित छन्। हुन सक्छ कि नेपालले उनीहरुलाई भारत नजान निर्देशन जारी गरेको होस्, स्याउ उत्पादकका लागि यो अभूतपूर्व संकट हो।’

सोही क्षेत्रका जोगिन्दर चौहानले बीबीसी हिन्दीसँग भनेका छन्, ‘नेपाली मजदूरको बैंक खातामा बैनाबापतको रकम पनि जम्मा गरिसकेको थिएँ, तर अहिले नेपाली मजदूरले फोन गरेर सीमामा प्रतिबन्धका कारण आफूहरु आउन नसकेको जानकारी गराएका छन्, केहीले पैसा फिर्ता गरिदिने बताएका छन् भने केहीले अर्को वर्ष मिलाउने प्रतिबद्धता जनाएका छन्।’

मुख्यमन्त्री जयराम ठाकुरका अनुसार सीमा बन्द भएका कारण नेपाली मजदूर आउन नपाएका हुन्। ‘हामीले केन्द्र सरकारसँग यो मुद्दा उठाएका छौँ, कुटनीतिक च्यानलका माध्यमबाट सहयोग गर्नका लागि भनेका छौँ,’ उनले भने।

त्यसो त हिमाचलमा क्वारेन्टिनको नियम कडा छ। बाहिरबाट प्रदेशमा आउनेलाई १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियम बनाइएको छ। तर प्रदेशका कृषिमन्त्री रामलाल मरकन्डाले नेपाली मजदूर आएको खण्डमा उनीहरुलाई स्याउ बगान नै क्वारेन्टिन हुनेगरी काममा लागाउन सकिने बताए। ‘हामी स्याउ बगानमा काम गर्ने मजदूरका लागि क्वारिन्टिन नियम खुकुलो बनाउन सक्छौं, उनीहरु स्याउ बगानमै क्वारिन्टिन हुन सक्छन् । तर मुख्य समस्या, नेपाली मजदूर आइरहेका छैनन्।’

नेपाली मजदूर स्याउको बगानमा काम गर्न प्रख्यात मानिन्छन् । उनीहरु स्याउको बाकस उठाउने, पहाडी साँघुरो बाटोमा बाकस बोकेर हिँड्न पोख्त हुन्छन् । पहाडी हावापानीमा भिजेका हुनाले उनीहरु सजिलै काम गर्न सक्नेखालका हुन्छन् । त्यसैले पनि हिमाचलका स्याउ बगानमा नेपाली मजदूर ठूलो संख्यामा काम गर्दै आएका थिए ।

सीमावर्ती भारतीय बजार सुनसान

भारतको बिहार राज्यमा रहेको सीमावर्ती रक्सौल बजार अहिले सुनसान छ । वीरगञ्ज नजिकै रहेको यो बजार खासगरी नेपाली ग्राहककै लागि केन्द्रित हुने गरेको छ ।

बीबीसी हिन्दीसँग कुरा गर्दै रक्सौलका पत्रकार अमरदीप भन्छन्, ‘यो बजारमा ७०–८० प्रतिशत ग्राहक नेपाली नै हुन्छन्, किराना सामानदेखि भाँडा, कपडा जस्ता सामान खरिद गर्न आउने गर्दछन् ।’ लकडाउन खुले पनि बजार सुनसान रहेको उनको भनाइ छ ।

रक्सौल बजारको स्थलगत रिपोर्टिङ गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘नेपालको संसदले नयाँ नक्सा पारित गरेर लिपुलेक, कालापानी र लिम्पियाधुरामाथि आफ्नो दावी गरेपछि दुई देशबीच तनावको स्थिति बनेको छ ।’

रक्सौलका कपडा व्यवसायी बिमलकुमार रुंगटाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘हाम्रोमा ९० प्रतिशत ग्राहक नेपालबाट आउँथे, लकडाउन खुलेर पसल खोलेको पनि २४ दिन भइसक्यो, स्टाफलाई तलब दिनसक्ने गरी पनि विक्री भएको छैन ।’

लकडाउनका कारण तीन महिना पसल बन्द गर्नुपरेको उनको भनाइ छ । तीन सातादेखि पसल खुले पनि व्यापार नभएको उल्लेख गर्दै उनले भने, ‘यस्तै अवस्था अब एक महिना जारी रहने हो भने हामीले पसल छोड्नुबाहेक अर्को विकल्प हुँदैन ।’

बीबीसी हिन्दीले लेखेको छ, ‘अन्यत्रका कारोबारीजस्तै रक्सौलका कारोबारीमा पनि कोरोना महामारीका कारण नोक्सान त भएको छ तर नेपालसँगको तनावबाट उनीहरुको समस्या कयौं गुणा बढाएको छ ।’

स्रोत : 

https://www.bbc.com/hindi/india-53206394


ताजा समाचार