आईपीएल : आज धर्मशालामा पहिलो खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सको सामना गर्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ । उक्त खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

धर्मशालाको क्रिकेट स्टेडियम पञ्जाबको दोस्रो घरेलु मैदान पनि हो । आइतबारको दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ । उक्त खेल राति ७ः४५ बजे लखनउस्थित ईकाना क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

जारी सिजनको आईपीएलमा चेन्नई सुपर किङ्स र पञ्जाब किङ्सले आफ्नो ११औँ खेल खेल्न लागेका हुन् । यो सिजन चेन्नई र पञ्जाब दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा पञ्जाबले चेन्नईलाई सात विकेटले हराएको थियो ।

पञ्जाब र चेन्नईबिचको खेल जारी सिजनको आईपीएलको ५३औँ खेल हो । यो सिजनको आईपीएलमा पञ्जाबभन्दा चेन्नई केही बलियो देखिएको छ । चेन्नईले यसअघि खेलिएको १० मध्ये पाँच खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।

यसैगरी पञ्जाबले यसअघि खेलिएको १० मध्ये चार खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । पञ्जाब आठ अंकसहित तालिकाको आठौँ स्थानमा छ । पञ्जाबभन्दा तल गुजरात टाइटन्स (आठ अंक) र मुम्बई इन्डियन्स (६ अंक) छन् । मुम्बई भने उपाधि होडबाट बाहिरिइसकेको छ । एजेन्सी


ताजा समाचार