राष्ट्रियसभा अध्यक्ष र चिनियाँ राजदूतबीच भेट, बीआरआईदेखि टीआरसीसम्ममा चासो व्यक्त

काठमाडौं।  राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका छन् । राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए ।

दुई देशबीचका राष्ट्रपतिकै तहबाट भ्रमण भएको र विभिन्न समयमा संसदीय टोली, राजनीतिक टोलीलगायतको नियमित भ्रमण भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले यस्ता भ्रमणहरुले सांस्कृतिक विविधताबारे जानकारी हुने, विकासका नयाँ आयामहरुको विस्तार हुने र पर्यटन प्रवर्नद्धनमा सघाउ पुर्याउने बताए ।

चीनले नेपालको हितका लागि आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे । बीआरआईलगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा आफ्नो गहिरो विश्वास रहेको बताए ।

नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ पर्यटकहरुको ठूलो भूमिका रहेको चर्चा गर्दै अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान सुचारु गर्न सके नेपालको पर्यटन उद्योगको वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

जलवायु परिवर्तनबाट हिमाली देशहरु निकै प्रभावित भएको भन्दै अध्यक्ष दाहालले हिमाल र प्रकृति बचाउन पनि हिमाली देशहरुबीच सहकार्य, सहयोग र साझा समझदारी जरुरी रहेको बताए ।

टीआरसी (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक) प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएर राष्ट्रियसभामा आइसकेको जानकारी दिँदै अध्यक्ष दाहालले राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित हुने विश्वास व्यक्त गरे ।

नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन विश्व समुदायको महत्त्वपूर्ण सहयोग रहेको र त्यसमा चीनको विशिष्ट भूमिका रहेको उनको भनाइ छ ।

सो अवसरमा राजदूत सोङले राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको भन्दै राजदूत सोङले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाइमा उठेको बताए ।

शान्ति प्रक्रियाको बाँकी कामको रुपमा रहेको टीआरसी विधेयक संसदबाट पारित हुन लागेकोमा निकै खुसी लागेको भन्दै राजदूत सोङले यसले नेपालको शान्ति, स्थिरता र विकासमा नयाँ फड्को हुने बताए ।

नेपालमा हालै निर्माण सम्पन्न भएका पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न शहरबाट सीधा उडान गर्न चीन इच्छुक रहेको भन्दै राजदूत सोङले त्यसले नेपालमा चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने बताए ।


ताजा समाचार