पद चाहिएको भए प्रचण्ड—नेपाललाई आफ्नो पार्टीमा आउने ओलीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको आरोप लगाएका छन्।

उनले पद चाहिएको भए पार्टी बैठकमा आउनसमेत अनुरोध गरेका छन्। आफू पक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टको संज्ञासमेत दिएकबा छन्।

‘उहाँहरुलाई पद चाहिएको छ। पद चाहिएको भए पार्टी बैठकमा आउनुपर्ने हो’, प्रचण्ड–नेपाललाई व्यङ्ग्य गर्दै ओलीले भने, ‘सुन्तला खान सुन्तला घारीमा जानुपर्छ, सल्लाघारी जाने?’

उनले पार्टी एकता गरिए पनि काम गर्न नदिएको उल्लेख गर्दै प्रचण्ड–नेपाल आफ्नो बाटो लागेपछि पार्टी राम्ररी चलिरहेको दवी गरे। ‘तीन वर्षसम्म पार्टी हलचल हुन सकेन। तर, अहिले दुई वटा नटबोल्ट खिया लागेर झरेपछि पार्टी यसरी चलेको छ,’ उनले आफ्नो पक्षमा माहोल रहेको संकेत गर्दै भने।

पार्टीको विधि र संविधान अनुसार आफूहरुले पार्टी चलाइ रहेको पनि ओलीले बताए। उनले प्रचण्ड–नेपाल समूहले आन्दोलनको घोषणा गरेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै तर त्यो आन्दोलनको औचित्य नभएको बताए। यस्तै आधिकारिक नेकपा आफूले नेतृत्व गरेको समूह नै रहेको जिकिर गर्दै उनले ‘बसिरहेको घर मेरो भन्दै निवेदन हाल्ने?’ भन्दै इतर समूहलाई प्रश्न गरे।

उनले आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन पनि प्रचण्ड–नेपाल समूहलाई चुनौति दिए। उनले प्रचण्ड नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने पनि बताए।

 


ताजा समाचार