ओलीको अराजनीतिक टिप्पणीः ‘सहिद भए श्रद्धाञ्जली दिन हुन्थ्यो’

काठमाडौँ। नेकपा ओली समूहका नेता एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्दै अराजनीतिक टिप्पणी गरेका छन् ।

काठमाडौंको कार्की बैंक्वेटमा आइतबार आयोजित आफू निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै ओलीले छुट्टै बैठक गरेका नेताहरुलाई कडा आलोचना गरे।

अनलाइनखबरका अनुसार उनले भने, तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो। तपाईंहरु सहिद त होइन। अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने आवश्यक छैन । खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो। ओलीले भने, ‘तपाईंहरुले दुर्गन्ध फैलाउनुहुन्छ, त्यहाँ अत्तर छर्किनुपर्छ।’

यति भन्दा–भन्दै पनि ओलीले प्रचण्ड–माधव समूहमा लागेका नेताहरुलाई पार्टीमा आउन आग्रह गरे। नेताहरुमा कुर्सीको पीर भएकाले कुर्सी यथावत राखिएको भन्दै उनले भने, आउनुस्। तर, उहाँहरु आउनु भएन भने पनि यो अभियान अगाडि बढ्छ। दुई–चारवटा पीलो निचोरियो भने पनि वजन घटेको हुन्न भनेजस्तै अझ पीडारहित भएर अगाडि बढ्छ।’


ताजा समाचार