रुसको आक्रमणबाट युक्रेनका एक धनाढ्य व्यापारीको मृत्यु

काठमाडौँ। रुसको मिसाइल आक्रमणबाट युक्रेनको माइकोलेभ सहरमा एक धनाढ्य व्यापारी दम्पतीको मृत्यु भएको छ।

७४ वर्षीय ओलेक्सी भादाटुस्र्की र उनकी श्रीमती रायसाको घरमा गएराति मिसाइल प्रहार हुँदा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ।

‘हिरो अफ युक्रेन’को अवार्डसमेत पाएका भादाटुस्र्की अन्न निर्यातमा संलग्न एक कम्पनी निबुलोनका प्रमुख हुन्। फोर्ब्स म्यागेजिनका अनुसार सन् २०२० मा उनको सम्पती ४५० मिलियन डलर थियो।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भादाटुस्र्की दम्पतीमाथि नियोजित आक्रमण भएको भन्दै निन्दा गरेका छन्। उनीहरुको निधनबाट युक्रेनलाई ठूलो क्षति पुगेको उनले बताएका छन्।

माइकोलेभ सहरका मेयर अलेकजेन्डर सेन्केभिचले यो सहरमा रुसले हालसम्मकै ठूलो बमबारी गरेको बताएका छन्। रुसको आक्रमणबाट माइकोलेभ सहरका होटल, खेलकुद परिसर, दुई विद्यालय, सेवा केन्द्र र घरहरुमा क्षति पुगेको छ।


ताजा समाचार