कांग्रेस सांसद भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी

काठमाडौँ। ग्याँस सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ ।

कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारी र उनकी आमालाई चिकित्सकहरुले यहाँ उपचार सम्भव नभएको भन्दै विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए । चिकित्सकहरुको सिफारिस अनुसार सांसद भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको उनको सचिवालयले जनाएको छ । उनकी आमाको भने कीर्तिपुरमै उपचार हुने छ । आमालाई आईसीयुबाट बाहिर निकाल्ने अवस्था नभएकाले उनलाई भारत नलैजाने स्रोतले बतायो ।

गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ।

आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको ताम्राकार बताउँछिन् । त्यसैले भारत लगेर उपचार गर्न सिफारिस गरिएको ताम्राकारले जानकारी दिइन् ।

सुरुमा सांसद भण्डारीले स्वदेशमै उपचार गर्न पाए हुन्थ्यो भनेका थिए । तर डाक्टरहरुले यहाँको स्रोत साधनले नभ्याउने बताएका छन् । राजनीतिक दलका नेताहरुले पनि उनलाई भारत गएर उपचार गराउन भनेपछि भण्डारी भारत जान तयार भएको उनको पारिवारीक स्रोतले बतायो ।


ताजा समाचार