नेकपा स्थापना: एकीकृत समाजवादीले सभागृहमा कार्यक्रम गर्ने

काठमाडौँ। आज नेपाल कम्युनिष्ट पार्टीको ७५औं दिवस । विभिन्न समूहमा विभाजित बनेका कम्युनिष्ट पार्टीहरूले स्थापना दिवस मनाई रहेका छन्। आइतबार नेकपा (एकीकृत समाजवादी) ले राजधानीको समागृहमा एक कार्यक्रमको आयोजना गर्दैछ। उक्त कार्यक्रम दिउँसो १२ बजेपछि सुरू हुने पार्टीको प्रचार विभागले जानकारी दिएको छ । कार्यक्रममा नेपाल सरकारका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि हुने बताइएको छ।

विश्व कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि २००६ वैशाख १० गते (२२ अप्रिल १९४९) का दिन पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो।

भारतको कलकत्तामा रहेका पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिइ मार्क्सवादको अध्ययनमा जुटेका थिए। उनले २३ चैत २००५ मा ‘कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए।

नेकपाको स्थापना १० वैशाख २००६ मा कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो। पुष्पलालले ‘नेपालको कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा भने आफूले नेकपा स्थापना गरिसकेपछि मात्र पार्टीको निर्णय अनुसार ‘मार्क्सवादी अध्ययन मन्डल’ गठन गरेको उल्लेख गरेका छन्। अध्ययन मण्डलमा हिक्मतसंह भण्डारी, प्रयागलाल, शमशेर चाँद र केशरजंग रायमाझी सदस्य भएको पनि उनले लेखेका छन्।

नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए। महासचिव पुष्पलाल आफैँ थिए। यसरी पुष्पलालले काठमाडौँबाट कलकत्ता पुगेका नेवारहरुलाई मात्र समेटेर पार्टी खोलेका थिए। पुष्पलालबाहेक कोही पनि माक्र्सिस्ट स्टडिज सर्कलमा आबद्ध युवा थिएनन्।

उता केशरजंग रायमाझी अध्ययनरत क्यम्पवेल मेडिकल स्कुलमा केही युवाले ‘मार्क्सिस्ट स्टडी सर्कल’ गठन गरे। पछि यो संस्थामा रायमाझीसहित भारतमा अध्ययनरत अधिकांश नेपाली युवा आबद्ध हुन थाले। तीमध्ये एक जना बनारसमा अध्ययनरत मनमोहन अधिकारी पनि थिए। रायमाझी र अधिकारी भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा समेत थिए।

‘मार्क्सिस्ट स्टडी सर्कल’ मा पुष्पलालसहित हिक्मतसिंह भण्डारी, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान, रामबाबु कार्की जस्ता युवा संलग्न भए। सर्कलको उद्देश्य नेपालमा कम्युनिष्ट पार्टी खोल्नु थियो। त्यसतर्फ छलफल हुँदाहुँदै पुष्पलालले सर्कलका साथीहरुलाई थाहै नदिइ गुप्त ढंगले अरु चार जनालाई सम्मिलित गराई नेकपा स्थापना गरेको डा। सुरेन्द्र केसीले आफ्नो पुस्तक ‘नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास’ मा उल्लेख गरेका छन्।


ताजा समाचार