नेप्सेसँगै कारोबार रकम पनि घट्दै

काठमाडौँ। बैंकहरुको खराब वित्तीय विवरणले सेयर बजारमा निराशा बढाएको छ । यसका कारण सेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १८.८० अंकले घटेर १८८५.६० अंकमा बन्द भएको छ ।

चैत अन्तिममा बैंकहरुले निक्षेपको ब्याजर घटाउन निर्णय गरेका थिए । यही बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै लैजाने संकेत गरेपनि त्यसले सेयर लगानीकर्तामा भने उत्साह बढाउन सकेन ।

आइतबार होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से परिसूचक पनि ०.९९ प्रतिशतले घिटेको छ । होटल तथा पर्यटन उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ ।

यता वित्त कम्पनी उपसूचक २.०१ प्रतिशत र व्यापार उपसूचक १.४७ प्रतिशतले गिरावट हुँदा बैंकिङ उपसूचक पनि १.३४ प्रतिशतले गिरावट भएको हो ।

बजार परिसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । आइतबार नेप्सेमा ३१ हजार ४१५ वटा कारोबारमा २७ लाख ३४ हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८२ करोड ८५ लाखको कारोबार भएको छ ।

जसमध्ये मोलुङ हाइड्रोपावरको करिब ३ करोड १२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको २ करोड ८९ लाख र एनआईसी एशिया बैंकको करिब २ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८८ कम्पनीको सेयर मूल्यमा गिरावट भयो । २९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आइतबार कारोबार भएकामध्ये आर्दश लघुवित्त र कालिञ्चोक दर्शनको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ६.९४ प्रतिशतले वृद्धि भएको छ ।

यता गुडविल फाइनान्सको सेयरमूल्य ५.७८ प्रतिशतले गिरावट हुँदा गणपति लघुवित्तको सेयरमूल्य ५.६४ प्रतिशत र धौलागिरी लघुवित्तको सेयर मूल्य ४.७० प्रतिशतले घटेर बन्द भएको छ ।


ताजा समाचार