आलियासँग पहिलोपटक स्क्रिन सेयर गर्दै बबी देओल

काठमाडौँ। बलिउड ‘एनिमल’मा काम गरेसँगै चर्चामा छन्, अभिनेता बबी देओल। यस फिल्ममा खलपात्रको भूमिकामा देखिएका उनको निकै तारिफ भएको थियो।

एनिमलको सफलतापछि पछिल्लो समय बबीलाई भिलेन पात्र भूमिकामा निकै अफर आउन थालेको छ। यसैबीच, यशराज प्रोडक्सनको आगामी फिल्म स्पाइ युनिभर्समा खलनायकको भूमिकामा रहेको हुनेछ। यो अनटाइटल फिल्ममा बबीसहित आलिया भट्ट र शर्वरी वाघ पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् ।

यो फिल्ममा पनि उनी आलिया र शर्वरीसँग भिड्दैछन्। बबीले फिल्मसँग सम्बन्धित कागजी काम पूरा गरिसकेका छन्। र, २०२४ को मध्यतिर यो फिल्मको छायांकन सुरु गर्नेछन्।

यो फिल्ममा बबी विशेष लुक्समा देखिने पनि स्रोतले जानकारी दिएको छ। उनी यसअघि कहिल्यै यस लुकमा देखिएका थिएनन्। फिल्म मार्फत आलिया र बबीले पनि पहिलो पटक फिल्ममा सँगै काम गर्न लागेका हुन्।

गत वर्ष डिसेम्बरमा रिलिज भएको आलियाका श्रीमान रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ मा बबी खलनायकको भूमिकामा देखिएका थिए।

योसहित साउथ सुपरस्टार सूर्याको आगामी फिल्म ‘कंगुवा’ मा पनि बबी खलनायकको भूमिकामा काम गर्नेछन्।

यो स्पाइ युनिभर्स फिल्मलाई शिव रवैलले निर्देशन गर्नेछन्। उनले यसअघि यशराजका लागि ‘द रेलवे म्यान’ निर्देशन गरिसकेका छन्। शिव रवैल आदित्य चोपडाका सहायक निर्देशक समेत रहेका छन्।

यशराज प्रोडक्सनले सलमान खान स्टारर फिल्म ‘एक था टाइगर’ बाट स्पाई युनिभर्सको सुरुवात गरेको थियो। त्यसबेलादेखि अहिलेसम्म यसमा ‘टाइगर जिन्दा है’, ‘वार’, ‘पठान’ र ‘टाइगर ३’ जस्ता फिल्महरू समावेश छन्।


ताजा समाचार