आईपीएल : आज मुम्बई र पन्जाब भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार पन्जाब किङ्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल पन्जाबको घरेलु मैदान महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलमा पन्जाब र मुम्बई दुवैले आफ्नो सातौँ खेल खेल्न लागेका हुन् । पन्जाबले यसअघि खेलिएको ६ मध्ये दुई खेलमा जित र चार खेलमा हारको नजिता निकालेको छ । पन्जाब चार अङ्कसहित तालिकाको आठौँ स्थानमा आसीन छ ।

पन्जाबले जितसँगै जारी सिजनको सुरुआत गरे पनि त्यसपछिका खेलमा भने निराशाजनक प्रदर्शन गर्दै आएको छ । पन्जाबले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई चार विकेटले हराएको थियो । पन्जाब आफ्नो दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग चार विकेटले पराजित भएको थियो ।

आफ्नो तेस्रो खेलमा पनि पन्जाबको टोली लखनउ सुपर जाइन्ट्ससँग २१ रनले हारेको थियो । चौथो खेलमा पन्जाबले गुजरात टाइटन्सलाई तीन विकेटले हराएको थियो । पाँचौँ खेलमा पन्जाबको टोली सनराइजर्स हैदराबादसँग दुई रनले र छैटौँ खेलमा राजस्थान रोयल्ससँग तीन विकेटले हारेको थियो ।

यसैगरी मुम्बई इन्डियन्सले पनि जारी सिजनको आईपीएलमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । मुम्बई यसअघि खेलिएको ६ मध्ये दुई खेलमा विजयी र चार खेलमा पराजित भएको छ । मुम्बई चार अङ्कसहित तालिकाको नवौँ स्थानमा आसीन छ ।

मुम्बई आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले, दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले र तेस्रो खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा भने मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको थियो ।

त्यसलगत्तै खेलिएको अर्को खेलमा पनि मुम्बईले सफलता हात पारेको थियो । मुम्बईले आफ्नो पाँचौँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले हराएको थियो । मुम्बईको टोली आफ्नो छैटौँ खेलमा चेन्नई सुपर किङ्ससँग २० रनले पराजित भएको थियो ।


ताजा समाचार