एसीसी प्रिमियर कप : भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा नेपाली टोली चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले पराजित भयो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १७.२ ओभरमा केवल ४ विकेट गुमाउँदै विजयलक्ष्य पुरा गर्‍यो ।

अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित यही प्रतियोगिताको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो । एसीसी प्रिमियर कपको पहिलो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । यसपटक भने आगामी आईसीसी टी-२० विश्वकपलाई ध्यानमा राखी प्रिमियर कप पनि टी-२० ढाँचामा खेलाइएको हो ।

जारी प्रतियोगितामा अब नेपाली टोलीले ओमान र हङ्कङबिच हुने दोस्रो सेमिफाइनलको पराजित टोलीसँग तेस्रो स्थानका लागि भिडन्त गर्नेछ । तेस्रो स्थानको खेल शनिबार खेलिने छ । सेमिफाइनलमा विजयी दुई टोलीबिच आइतबार उपाधि भिडन्त हुनेछ।


ताजा समाचार