हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा

काठमाडौँ। पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन्। सोही विषयमा छलफल गर्न उनी दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतको भनाइ छ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर आफ्नै छुट्टै राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव जितेका थिए। केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा सहभागी भएपछि उनी राजनीतिक रूपमा पनि ओलीकै साथमा रहने अड्कलबाजी भएको थियो। यद्यपि उनी एमालेमा प्रवेश गरेनन्।

पछिल्लो समय उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आबद्ध हुने चर्चा पनि चलेको छ। तर, सो पार्टीका अन्य केही नेता र त्रिपाठीबीच व्यक्तित्वको टकराव भएका कारण त्यति सकारात्मक माहौल बन्न नसकेको स्रोत बताउँछ। लोसपामा राजेन्द्र महतो पार्टीको वरीयताक्रममा दोस्रो स्थानमा छन्। यस्तै, शरतसिंह भण्डारी तेस्रो, अनिलकुमार झा चौथो स्थानमा छन्। त्रिपाठी आफूलाई राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्लालगायतका नेताभन्दा सिनियर मान्छन्। उनी कुनै पनि हालतमा उनीहरूभन्दा तलको पोजिसनमा बस्न चाहँदैनन्।

स्वतन्त्र राजनीतिक समूहका एक नेताले भने, ‘त्रिपाठीजी लोसपामा जानुहुन्न, उहाँले आफ्नै नेतृत्वमा पार्टी गठन गर्दै हुनुहुन्छ, पार्टी गठन गरिसकेपछि कहाँ जाने, के गर्ने भन्ने तय हुन्छ।’ यता लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले पनि त्रिपाठी लोसपामा प्रवेश गर्ने विषयमा चर्चा नभएको बताए। उनले भने, ‘त्रिपाठीजी लोसपामा आउनेबारे कुनै छलफल भएको छैन, यदि उहाँ आउन चाहे पार्टीले स्वागत गर्छ तर तत्काल त्यस्तो केही कुराकानी भएको छैन।’


ताजा समाचार