‘कानून संशोधन गरेर सरकारले निर्वाचनको मिति तोक्छ’

काठमाडौैँ। सत्तारुढ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानसँग बाझिएका कानुन संशोधन गरेर मात्र सरकारले चुनाव निर्वाचनको मिति तोक्ने बताएका छन्।

संविधान र कानुन बाझिएका कारण निर्वाचनको मिति तोक्न सरकारलाई समस्या परेको भन्दै उनले यसबारे आवश्यक गृहकार्य भइरहेको रातोपाटीलाई बताए।

‘संविधानसँग बाझिएका कानुन संशोधन गर्न सरकारलाई सुझाव दिइएको छ,’ आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी खड्काले भने, ‘सरकारले यसलाई संशोधन गर्छ । त्यसका आधारमा चुनावबारे छलफल गरेर मिति दिन्छ ।’

निर्वाचन आयोगले विद्यमान कानुनअनुसार स्थानीय तह निर्वाचनको मिति सिफारिस गरेपनि संविधान र कानुन बाझिँदा संशोधनको आवश्यकता देखिएको उनको भनाइ छ । ‘निर्वाचन आयोगले विद्यमान कानुनअनुसार १२० दिनको समय मागेर निर्वाचनको मिति सिफारिस गरेको हो । तर सरकारले छलफल गर्दै जाँदा संविधान र कानुन बाझिएको प्रस्ट रुपमा देखियो ।’

कानुनविदहरुबाट संविधानसँग बाझिएको कानुनलाई संशोधन गरेर चुनावबारे सरकारलाई निर्णयमा पुग्न सुझाव आएको उनले बताए । ‘त्यही अनुसार अब सरकारले आफ्नो काम अगाडि बढाउला । हामी संविधान अनुसार तीन तहको निर्वाचन गर्ने पक्षमा छौं । यसमा आशंका मान्नुपर्ने कुनै कारण छैन ,’ उनले भने ।

उनका अनुसार संविधानको धारा २२५ मा गाउँ र नगरसभाको कार्यकाल ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएको छ । संविधानको धारा २२५ र ऐनको दफा ३ बाझिएकाले कानुन संशोधन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।


ताजा समाचार