राष्ट्रपति भण्डारी बंगलादेशमा

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा ढाका पुगेकी छिन्।

राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार १० बजे अवतरण गरेकी हुन्।

राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीको स्वागतमा ब‌ंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत पनि उपस्थित थसए।

त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो। विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रता संग्रामका सहिदहरूको शालिकमा माल्यार्पण गर्न पुगेकी थिइन्।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीको अवसर पारेर बंगलादेश गएकी हुन्।

नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण भएको हो। तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको छैन।


ताजा समाचार